कोखे डाँडाबाट देखिएको सूर्यास्त र पहाडका लहर
नेपाली लेख · घुमफिर गाइड

कोखे डाँडा कसरी जाने? नेपाली पदयात्रीका लागि रुट, खर्च र होमस्टे गाइड

पोखराबाट केही घण्टाको यात्रामै पुग्न सकिने ३,३०९ मिटर उचाइको कोखे डाँडा पछिल्ला वर्षहरूमा नेपाली पदयात्रीमाझ लोकप्रिय बन्दै गएको छ। धौलागिरिदेखि अन्नपूर्ण र माछापुच्छ्रेसम्म फैलिएको हिमशृङ्खला, बाटोमा भेटिने मगर बस्ती र डाँडाबाट देखिने मनमोहक सूर्योदय तथा सूर्यास्त यहाँका मुख्य आकर्षण हुन्। तर कोखे डाँडा जाने बाटो कुन हो, कति खर्च लाग्छ र कहाँ बस्ने भन्ने जानकारी सहजै पाउन भने अझै कठिन छ।

आफैँ यात्रा योजना बनाएर कोखे डाँडा जान चाहने नेपाली पदयात्रीलाई लक्षित गरी यो लेख तयार पारिएको हो। यसमा पोखराबाट कोखे डाँडा पुग्ने तीन प्रमुख बाटो, यातायात खर्च, होमस्टेको व्यवस्था र यात्राका लागि आवश्यक तयारीबारे स्थानीय अनुभवका आधारमा जानकारी प्रस्तुत गरिएको छ।

निर्देशित पदयात्रा, दिनअनुसारको यात्रा कार्यक्रम तथा प्याकेजसम्बन्धी जानकारीका लागि हाम्रो Kokhe Danda Trek पृष्ठ हेर्नुहोस्।

मुख्य जानकारी

उचाइ३,३०९ मिटर
जिल्लापर्वत, गण्डकी प्रदेश
पोखराबाट गाडीमा३–४ घण्टा
माथि पुग्न लाग्ने समय१–२ दिन
दुई दिनको अनुमानित बजेटप्रतिव्यक्ति रु. ५,०००
तीन दिनको अनुमानित बजेटप्रतिव्यक्ति रु. ६,०००–७,०००
होमस्टे तथा खानाको खर्चप्रतिव्यक्ति रु. १,०००–१,६००
मोबाइल नेटवर्कएनटीसी (NTC) तुलनात्मक रूपमा राम्रो
पहिलो दिनमै कोखे डाँडा पुग्ने योजना छ?

पहिलो दिनमै कोखे डाँडा पुग्ने योजना बनाउने कतिपय पदयात्री ढिलो गरी यात्रा सुरु गर्दा बेलुका ८–९ बजेतिर मात्र माथि पुग्ने गरेका छन्। अँध्यारोमा लेकको बाटो हिँड्नु जोखिमपूर्ण हुनुका साथै सूर्यास्तको सुन्दर दृश्य पनि छुट्न सक्छ। त्यसैले बिहान ६–७ बजेभित्रै पोखराबाट यात्रा सुरु गर्नु उपयुक्त हुन्छ। यसो गर्दा दिउँसो ३–४ बजेसम्म कोखे डाँडा पुगेर आराम गर्न र सूर्यास्तको दृश्य अवलोकन गर्न पर्याप्त समय मिल्छ।

पोखराबाट कोखे डाँडा पुग्ने तीन प्रमुख बाटो

कोखे डाँडा पुग्न पर्वतको कुश्मा हुँदै जाने पश्चिमतर्फको बाटो र नयाँपुल हुँदै जाने पूर्वतर्फको बाटो मुख्य विकल्प हुन्।

कुश्माबाट बनौ वा लेस्पारसम्म गाडीमा पुगेर दुई दिनमा विस्तारै उकालो चढ्न सकिन्छ। त्यसैगरी नयाँपुल हुँदै बन्ठाटीसम्म गाडीमा पुगेर एकै दिनमा कोखे डाँडा उक्लन सकिन्छ।

आफ्नो समय, शारीरिक क्षमता र खर्च गर्ने बजेटअनुसार तलका तीनमध्ये उपयुक्त बाटो रोज्न सक्नुहुन्छ।

बाटो १ · २ दिन कुश्मा – बनौ – हल्जुरे – जलजला – कोखे डाँडा
विशेषता: गाउँको होमस्टे र विस्तारै उकालो चढ्ने अनुभव
  1. पहिलो दिन: पोखराबाट कुश्मा हुँदै करिब ३ घण्टाको गाडी यात्रापछि बनौ पुगिन्छ। बनौबाट करिब डेढ घण्टा उकालो हिँडेपछि हल्जुरे गाउँ पुग्न सकिन्छ। रात हल्जुरेको होमस्टेमा बिताउनुहोस्।
  2. दोस्रो दिन: हल्जुरेबाट देउराली र जलजला हुँदै कोखे डाँडा पुग्न करिब ७–८ घण्टा पैदल हिँड्नुपर्छ। यात्रा लामो हुने भएकाले बिहान सबेरै हिँड्न सुरु गर्नु राम्रो हुन्छ।

हल्जुरेमा एक रात बिताउँदा गाउँको जनजीवन, स्थानीय संस्कृति र पाहुनालाई गरिने आत्मीय सत्कारको अनुभव लिन सकिन्छ। साथै, दोस्रो दिनको लामो उकालोअघि पर्याप्त आराम गर्ने अवसर पनि मिल्छ।

पहिलोपटक लेकको पदयात्रा गर्दै हुनुहुन्छ वा परिवारसँग यात्रा गर्ने योजना छ भने यो बाटो उपयुक्त हुन सक्छ।

बाटो २ · २ दिन कुश्मा – लेस्पार – दोबाटो – जलजला – कोखे डाँडा
विशेषता: कम भीडभाड र मगर गाउँको अनुभव
  1. पहिलो दिन: पोखराबाट करिब ४ घण्टा वा कुश्माबाट करिब अढाई घण्टाको गाडी यात्रापछि सिधै लेस्पार गाउँ पुग्न सकिन्छ। रात लेस्पारको होमस्टेमा बिताउनुहोस्।
  2. दोस्रो दिन: लेस्पारबाट दोबाटो र जलजला हुँदै कोखे डाँडा पुग्न करिब ६ घण्टा पैदल हिँड्नुपर्छ। बाटोमा पर्ने धिमाडाँडामा खाना खाने ठाउँ उपलब्ध छ। जलजलामा पनि होटल भएकाले दिउँसोको खाना त्यहीँ खान सकिन्छ।

गाडीबाटै केही उचाइ पार हुने भएकाले यस बाटोमा पैदल हिँड्नुपर्ने दूरी तुलनात्मक रूपमा कम छ। साथै, अन्य बाटोको तुलनामा यहाँ पदयात्रीको चहलपहल पनि कम हुन्छ।

लेस्पार मगर समुदायको मौलिक बस्ती हो। यहाँको संस्कृति, परम्परा, खेतीपाती र स्थानीय होमस्टेको अनुभव लिन चाहनेका लागि यो बाटो विशेष उपयुक्त छ।

पर्वतको लेस्पार गाउँ
लेस्पार: मगर समुदायको मौलिक बस्ती, कम भीडभाड हुने बाटोको पहिलो बास।
बाटो ३ · १ दिन पोखरा – नयाँपुल – बन्ठाटी – ताप्रङ – कोखे डाँडा
विशेषता: छोटो समयमै पुग्न सकिने तर ठाडो उकालो भएको बाटो
  1. पहिलो चरण: पोखराबाट नयाँपुल हुँदै करिब ३ घण्टाको गाडी यात्रापछि बन्ठाटी पुगिन्छ।
  2. दोस्रो चरण: बन्ठाटीबाट ताप्रङसम्म पुग्न करिब डेढ घण्टा उकालो हिँड्नुपर्छ। ताप्रङमा दिउँसोको खाना खान सकिन्छ।
  3. तेस्रो चरण: ताप्रङबाट थप अढाईदेखि तीन घण्टा उकालो हिँडेपछि कोखे डाँडा पुगिन्छ। यसरी बन्ठाटीदेखि कोखे डाँडासम्मको कुल पैदल यात्रा करिब ५ घण्टाको हुन्छ। अधिकांश बाटो ठाडो उकालो छ।

समय कम छ र उकालो हिँड्ने बानी छ भने यो सबैभन्दा छोटो विकल्प हो। तर एकै दिनमा माथि पुग्ने योजनामा ढिलो गरी यात्रा सुरु गर्नु हुँदैन। त्यसैले बिहान ६–७ बजेभित्रै पोखराबाट निस्कनुहोस्।

ढिलो हुने अवस्था आएमा ताप्रङमै बास बस्नु राम्रो हुन्छ। त्यहाँ बास बस्न मिल्ने टी-हाउस उपलब्ध छ।

कुन बाटो रोज्ने?

बाटोमाथि पुग्न लाग्ने समयपैदल हिँडाइउपयुक्त हुने पदयात्री
बनौ – हल्जुरे२ दिन१.५ घण्टा + ७–८ घण्टापहिलोपटक लेक चढ्ने, परिवारसँग जाने र होमस्टेको अनुभव गर्न चाहने
लेस्पार – दोबाटो२ दिनकरिब ६ घण्टाभीडभाडबाट टाढा रहन र कम हिँडाइमा गाउँ तथा लेकको अनुभव लिन चाहने
बन्ठाटी – ताप्रङ१ दिनकरिब ५ घण्टा (ठाडो उकालो)समय कम भएका र उकालो हिँड्न अभ्यस्त पदयात्री

कोखे डाँडा पुग्दा जुन बाटो प्रयोग गर्नुभएको हो, फर्कँदा पनि त्यही बाटो रोज्नुपर्छ भन्ने छैन। बनौ वा लेस्पार हुँदै उक्लिएका पदयात्री बन्ठाटीको बाटो भएर पनि झर्न सक्छन्। यसरी फरक बाटो प्रयोग गर्दा पदयात्रामा नयाँ गाउँ, बस्ती र प्राकृतिक दृश्यहरूको अनुभव लिन सकिन्छ।

कोखे डाँडाबाट पुनहिल र घोडेपानी हुँदै बन्ठाटी झर्ने अर्को विकल्प

कोखे डाँडाको पदयात्रालाई अझ लामो र विविध बनाउन पुनहिल र घोडेपानीसँग पनि जोड्न सकिन्छ। कोखे डाँडाबाट पुनहिलसम्म पुग्न करिब २ घण्टा ३० मिनेट लाग्छ। पुनहिलबाट घोडेपानी पुग्न थप करिब ४५ मिनेट हिँड्नुपर्छ। त्यसपछि घोडेपानीबाट बन्ठाटी झर्न करिब २–३ घण्टा लाग्छ।

यसरी कोखे डाँडाबाट सुरु भएको पदयात्रा पुनहिल र घोडेपानी हुँदै बन्ठाटीमा टुङ्ग्याउन सकिन्छ। बन्ठाटीबाट गाडीको व्यवस्था मिलाएर पोखरा फर्कन सकिन्छ।

यो विकल्प रोज्दा एउटै यात्रामा जलजलाको प्राकृतिक सौन्दर्य, मगर बस्ती, पुनहिलको प्रसिद्ध हिमाली दृश्य र घोडेपानी क्षेत्रको वनजङ्गलको अनुभव लिन पाइन्छ। विशेषगरी दुई दिनभन्दा बढी समय छुट्याउन सक्ने र एउटै बाटोबाट फर्कन नचाहने पदयात्रीका लागि यो राम्रो विकल्प हो।

गाडी भाडा कति लाग्छ?

पोखराबाट कोखे डाँडाको पदयात्रा सुरु हुने विभिन्न स्थानसम्म पुग्न लाग्ने अनुमानित गाडी भाडा यस प्रकार छ।

कहाँबाट – कहाँसम्मयातायातको साधनभाडा (रु.)
पोखरा – कुश्मासाझा विद्युतीय माइक्रोबस३००
पोखरा – कुश्माट्याक्सी६००
कुश्मा – बनौसार्वजनिक यातायात३००
कुश्मा – बनौरिजर्भ ट्याक्सी२,५००
कुश्मा – लेस्पारसार्वजनिक यातायात५००
पोखरा – बन्ठाटीरिजर्भ जिप (यात्रुहरूबीच बाँडिने)८,०००

यी भाडा अनुमानित हुन्। मौसम, इन्धनको मूल्य र मोलमोलाइअनुसार केही फरक पर्न सक्छ।

साथीहरूको समूहमा यात्रा गर्दै हुनुहुन्छ भने रिजर्भ गाडी लिनु सुविधाजनक हुन्छ। यसो गर्दा यात्राको समय आफ्नै अनुकूल बनाउन सकिन्छ र गाडी भाडा सबैले बाँडेर तिर्दा प्रतिव्यक्ति खर्च पनि कम पर्छ।

कहाँ बस्ने र कति खर्च लाग्छ?

हल्जुरे र लेस्पारमा स्थानीय परिवारले सञ्चालन गरेका होमस्टे उपलब्ध छन्। यहाँ बेलुकाको खाना, बिहानको खाजा र एक रातको बाससहित प्रतिव्यक्ति करिब रु. १,०००–१,२०० खर्च लाग्छ।

कोखे डाँडामा भने यही सुविधाका लागि प्रतिव्यक्ति करिब रु. १,६०० लाग्छ। माथिल्लो डाँडासम्म खाद्यान्न र आवश्यक सामग्री बोकेर पुर्‍याउनुपर्ने भएकाले यहाँको खर्च केही बढी हुनु स्वाभाविक हो।

शनिबार, सार्वजनिक बिदा तथा असोज–कात्तिक र फागुन–चैतजस्ता पदयात्राको चहलपहल बढ्ने समयमा कोखे डाँडामा बास पाउन कठिन हुन सक्छ। त्यसैले यात्रा सुरु गर्नुअघि नै फोन गरेर बासको व्यवस्था मिलाउनुहोस्।

सम्पर्क नम्बर र स्थानको जानकारीका लागि गुगल नक्सामा यी होमस्टेहरू खोज्न सक्नुहुन्छ।

कोखे डाँडामा रहेको बासस्थान
कोखे डाँडाको बासस्थान: बिदा र चहलपहल बढ्ने समयमा पहिले नै बुक गर्नुहोस्।

कोखे डाँडा पदयात्रामा कति खर्च लाग्छ?

कोखे डाँडा पदयात्रा धेरै महँगो यात्रा होइन। सामान्य खर्चमा यात्रा गर्न चाहने नेपाली पदयात्रीले आफ्नो समय र रुटअनुसार करिब निम्न बजेट छुट्याउन सक्छन्।

पदयात्राको अवधिप्रतिव्यक्ति अनुमानित बजेट
२ दिनरु. ५,०००
३ दिनरु. ६,०००–७,०००

यो बजेट सामान्यतया खाना, खाजा, होमस्टे वा स्थानीय लजमा बसाइ र यात्राका अन्य आधारभूत खर्चलाई ध्यानमा राखेर तयार गरिएको हो। समूहमा यात्रा गर्दा खर्च अझ कम हुन सक्छ।

माथिल्लो क्षेत्रमा खाद्यान्न तथा आवश्यक सामग्री ढुवानी गर्नुपर्ने भएकाले कोखे डाँडाको खाना र बासको मूल्य तल्लो गाउँको तुलनामा केही बढी हुन सक्छ। त्यस्तै, रिजर्भ गाडी, व्यक्तिगत किनमेल र अन्य अतिरिक्त खर्चले कुल बजेट फरक पार्न सक्छ।

त्यसैले आफ्नो यात्रा सुरु हुने स्थान र फर्कने बाटोअनुसार यातायात खर्च छुट्टै हिसाब गर्नुहोस्। थोरै बजेटमा पनि प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र हिमाली दृश्यको आनन्द लिन सकिने भएकाले कोखे डाँडा नेपाली पदयात्रीका लागि राम्रो विकल्प हो।

मोबाइल नेटवर्क, बिजुली र फोन चार्ज गर्ने सुविधा

कोखे डाँडा जाने बाटोका केही स्थानमा मोबाइल नेटवर्क कमजोर हुन सक्छ। अहिलेसम्मको अनुभवअनुसार एनटीसी (NTC) को नेटवर्क तुलनात्मक रूपमा राम्रो चल्छ। त्यसैले सम्भव भए एनटीसीको सिमकार्ड पनि साथमा राख्नुहोस्।

कोखे डाँडामा सौर्य ऊर्जाबाट मात्र बिजुली उत्पादन गरिन्छ। धेरै पाहुना भएका दिन सौर्य ऊर्जाबाट सञ्चित भएको विद्युत् सकिन सक्छ। त्यसैले मोबाइल फोन, क्यामेरा तथा अन्य विद्युतीय सामग्री चार्ज गर्न पावर बैंक अनिवार्य रूपमा बोक्नुहोस्।

कोखे डाँडा जानुअघि के–के तयारी गर्ने?

कोखे डाँडाको पदयात्रा सहज बनाउन र यात्रालाई सुरक्षित बनाउन केही आवश्यक सामग्री साथमा राख्नुपर्छ।

  • न्यानो कपडा: समुद्री सतहबाट ३,३०० मिटरभन्दा बढी उचाइमा रहेको कोखे डाँडामा बिहान र बेलुका निकै चिसो हुन्छ। डाउन ज्याकेट, टोपी, पन्जा, न्यानो मोजा र भित्री न्यानो कपडा बोक्नुहोस्। हिउँदमा तल्लो क्षेत्रमा पर्ने हल्जुरेमै रातको तापक्रम माइनस ५–६ डिग्रीसम्म झर्न सक्छ।
  • पदयात्राका लागि उपयुक्त जुत्ता: उकालो, ओरालो र केही स्थानमा चिप्लो बाटो पर्ने भएकाले राम्रो पकड भएको हाइकिङ जुत्ता लगाउनुहोस्।
  • पावर बैंक र टर्च: सौर्य ऊर्जाबाट प्राप्त हुने बिजुलीमा मात्र भर नपर्नुहोस्। ढिलो हुने सम्भावना छ भने टाउकोमा लगाउन मिल्ने बत्ती (हेडल्याम्प) पनि साथमा राख्नुहोस्।
  • पानी र हल्का खाजा: लामो उकालो हिँड्दा आवश्यक पर्ने पानी र चना, चकलेट तथा बिस्कुटजस्ता हल्का खाजा बोक्नुहोस्।
  • पर्याप्त नगद: गाउँ तथा डाँडामा अनलाइन भुक्तानीको सुविधा नहुन सक्छ। त्यसैले आवश्यक खर्चका लागि पर्याप्त नगद साथमा राख्नुहोस्।
  • फोहोर व्यवस्थापन: प्लास्टिक, पानीका बोतल तथा अन्य फोहोर जथाभावी नछोड्नुहोस्। आफूले लगेको फोहोर आफैँ फर्काएर ल्याउनुहोस्। कोखे डाँडाको प्राकृतिक सौन्दर्य र स्वच्छता जोगाउनु हामी सबैको जिम्मेवारी हो।

पदयात्रामा आवश्यक पर्ने सामग्रीको विस्तृत सूचीका लागि हाम्रो Kokhe Danda Packing List लेख पनि पढ्नुहोस्।

हिउँदमा कोखे डाँडा जाँदै हुनुहुन्छ?

मंसिरदेखि माघसम्म मौसम सफा रहने सम्भावना बढी हुने भएकाले यस समयमा हिमालहरूको दृश्य निकै स्पष्ट देख्न सकिन्छ। तर यो समयमा चिसो पनि उत्तिकै बढ्छ। हिउँ परेपछि जलजलादेखि माथिको बाटो चिप्लो र कठिन हुन सक्छ।

२०७८ साल पुस १६ गते हामी बनौबाट कोखे डाँडासम्म एकै दिनमा पदयात्रा गर्दा जलजलामा कम्मरसम्म हिउँ परेको थियो। त्यस दिन कोखे डाँडा पुग्न करिब १२ घण्टा लागेको थियो।

त्यसैले हिउँ परेको जानकारी प्राप्त भएमा यात्रा सुरु गर्नुअघि स्थानीय होमस्टे सञ्चालकसँग बाटोको पछिल्लो अवस्था बुझ्नुहोस्। हिउँको अवस्था प्रतिकूल भएमा यात्रा स्थगित गर्नु वा स्थानीयको सल्लाहअनुसार योजना परिवर्तन गर्नु उपयुक्त हुन्छ।

शरद् ऋतुमा रङ्गीन जलजलाको वनजङ्गल
जलजला: बनौ र लेस्पार दुवैतर्फबाट आउने बाटो यहीँ जोडिन्छ।

शरद् ऋतुमा भने जलजलाको वनजङ्गल पहेँलो र रातो रङले सजिन्छ। यस समयमा वनको प्राकृतिक सौन्दर्यले पदयात्रालाई अझ आकर्षक बनाउँछ। जलजलाको शरद् ऋतुको सुन्दरता र रङ्गीन वनजङ्गलबारे थप जानकारीका लागि हाम्रो जलजलामा शरद् ऋतुका रङहरू लेख पनि पढ्न सक्नुहुन्छ।

बारम्बार सोधिने प्रश्न

पोखराबाट एकै दिनमा कोखे डाँडा पुग्न सकिन्छ?

सकिन्छ। सबैभन्दा छोटो बाटो नयाँपुल हुँदै बन्ठाटीसम्म गाडीमा (करिब ३ घण्टा) र त्यहाँबाट ताप्रङ हुँदै करिब ५ घण्टाको ठाडो उकालो हो। तर बिहान ६–७ बजे नै पोखराबाट निस्कनुपर्छ, ताकि दिउँसो ३–४ बजेसम्म माथि पुगेर सूर्यास्त हेर्न भ्याइयोस्।

कोखे डाँडामा बस्दा कति खर्च लाग्छ?

हल्जुरे र लेस्पारका होमस्टेमा बेलुकाको खाना, बिहानको खाजा र बाससहित प्रतिव्यक्ति रु. १,०००–१,२०० र कोखे डाँडामा रु. १,६०० जति लाग्छ। दुई दिनको पदयात्राका लागि प्रतिव्यक्ति करिब रु. ५,००० र तीन दिनका लागि रु. ६,०००–७,००० बजेट छुट्याउनुहोस्। शनिबार, बिदा र भीडभाडको सिजनमा कोखे डाँडाको बास पहिले नै बुक गर्नुहोस्।

कोखे डाँडामा मोबाइल नेटवर्क र चार्ज गर्ने सुविधा छ?

नेटवर्क कमजोर हुन सक्छ, तर NTC सबैभन्दा राम्रो चल्छ। कोखे डाँडामा बिजुली सोलारबाट मात्र आउँछ र भीड भएका दिन सकिन पनि सक्छ, त्यसैले पावर बैंक अनिवार्य जस्तै बोक्नुहोस्।

भीड कम हुने बाटो कुन हो?

पहिलो दिन गाडीमा लेस्पार पुगेर दोस्रो दिन दोबाटो र जलजला हुँदै करिब ६ घण्टा हिँडेर कोखे डाँडा पुग्ने बाटोमा तुलनात्मक रूपमा कम पर्यटक भेटिन्छन्।

यो जानकारी कात्तिक २०८३ को अवस्थामा आधारित छ। गाडी भाडा र बासको दर समयअनुसार फरक पर्न सक्छ। सुरक्षित र रमाइलो यात्राको शुभकामना।

स्थानीय गाइडसँग कोखे डाँडा

गाडी, बास र गाइड सबै मिलाइदिऊँ?

समूहमा जाँदै हुनुहुन्छ वा बाटोको झन्झट आफैँ बेहोर्न चाहनुहुन्न भने गाडी, होमस्टे र स्थानीय गाइडको व्यवस्था हामी मिलाइदिन्छौँ। तपाईंको समय र बजेटअनुसार योजना बनाउन ह्वाट्सएपमा सम्पर्क गर्नुहोस्।