पर्वतको बाजुङ गाउँको पाकेको धानखेत
मौसम अपडेट · कात्तिक ७, २०८३

धान काट्ने विचारमा हुनुहुन्छ? मंगल वा बुधबार उठाइसक्ने गरी काट्नुहोस्, नत्र पर्खनुहोस्

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण कात्तिक ११ गते बुधबारदेखि १५ गतेसम्म देशभर वर्षा हुने देखिएको छ। गण्डकी क्षेत्रमा यसको प्रभाव तुलनात्मक रूपमा बढी पर्न सक्ने भएकाले पर्वतका किसानले धान काट्ने र भित्र्याउने योजना अहिले नै मिलाउनु जरुरी छ।

किसानलाई मुख्य सुझाव

मंगलबार (कात्तिक १०) वा बढीमा बुधबार बिहानसम्म झारेर, सुकाएर भित्र्याउन सकिने जति मात्र धान काट्नुहोस्। त्यति समयमा उठाउन नसकिने भए वर्षा सकिएपछि, कात्तिक १५ पछि मात्र काट्नु उपयुक्त हुन्छ।

अहिलेको मौसम: दशैँको अन्त्यसम्म घमाइलो

आज दशैँको त्रयोदशी र भोलि कोजाग्रत पूर्णिमाको मौसम भने गज्जबको रहनेछ। आइतबार र सोमबार पनि घमाइलो देखिन्छ। मंगलबारसम्म मौसम सफा र रमाइलो रहने भएकाले यी तीन–चार दिन बाली काट्ने, झार्ने र सुकाउने कामका लागि अनुकूल छन्।

तर मंगलबारपछि मौसम बदली हुँदै बुधबारदेखि वर्षा सुरु हुने देखिएकाले यही घमाइलो समयलाई सही तरिकाले उपयोग गर्नुपर्छ। काटेको धान खेतमै भिज्न दिनु भनेको वर्षभरिको मेहनत जोखिममा पार्नु हो।

शनि, कात्तिक ७☀️घमाइलो
आइत, कात्तिक ८☀️घमाइलो
कोजाग्रत पूर्णिमा
सोम, कात्तिक ९☀️घमाइलो
मंगल, कात्तिक १०🌤️घमाइलो, पछि बदली हुँदै
बुध–आइत, कात्तिक ११–१५🌧️पटकपटक वर्षा

बंगालको खाडीमा के भइरहेको छ?

आज बिहान ७ बजे विभिन्न भू-उपग्रहका तस्बिर र मौसम मोडेल हेर्दा बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली समुद्री सतहदेखि करिब ५.८ किलोमिटर उचाइसम्म फैलिएको देखिन्छ।

प्रणाली विकसित हुँदै गरेको क्षेत्रमा समुद्री सतहको तापक्रम करिब २९ डिग्री सेल्सियस छ र ठाडो वायु अपरूपण (Vertical Wind Shear) कम छ। यस्तो अवस्थामा प्रणाली थप शक्तिशाली बन्न सक्छ। यसो भएमा हालको न्यूनचाप (depression) भोलि आइतबारसम्म गहिरो न्यूनचाप (deep depression) र सोमबारसम्म सम्भावित रूपमा ‘चक्रवात अर्नब’ (Cyclone Arnab) मा परिणत हुन सक्छ।

त्यसपछि यो पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा पुग्ने देखिन्छ। प्रणाली पश्चिमतर्फ आन्ध्र प्रदेशतिर गए नेपालमा यसको प्रभाव मध्यम हुनेछ। तर ओडिशा वा त्योभन्दा उत्तरतर्फ लागे नेपालमा प्रभाव अलि बढी हुनेछ।

प्रणालीको अन्तिम तीव्रता, तटीय प्रवेश बिन्दु (landfall) र मार्गबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न सकिँदैन। तर एउटा कुरा निश्चित छ: कात्तिक ११ देखि १५ सम्म देशभर वर्षा हुनेछ। प्रणाली चक्रवातमा परिणत भए वर्षाको तीव्रता अलि बढी हुनेछ।

कात्तिक ११–१५: के अपेक्षा गर्ने?

यसको अर्थ पाँचै दिन लगातार पानी परिरहन्छ भन्ने होइन। बीचबीचमा वर्षा रोकिए पनि आकाश पूर्ण रूपमा खुल्न नपाउने र पटकपटक पानी परिरहने सम्भावना छ। यस्तो मौसममा काटेको धान सुकाउन लगभग असम्भव हुन्छ।

मुख्य चिन्ता वर्षाको अवधि मात्र होइन, यो अवधिमा जम्मा हुने वर्षाको मात्रा पनि हो। प्रणाली अझै विकसित हुँदै गएकाले वर्षाको मात्रा बढ्न सक्छ र केही स्थानमा असिनासमेत पर्न सक्छ। यस वर्षाको प्रभाव पूर्वी र मध्य भागदेखि गण्डकी क्षेत्रसम्म अलि बढी हुने देखिएकाले पर्वत पनि बढी प्रभावित हुने क्षेत्रभित्र पर्छ।

देशभरका उच्च हिमाली भेगमा बाक्लो हिमपात हुन सक्ने देखिन्छ। पर्वतको उत्तरतर्फ पर्ने धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल क्षेत्रमा हिमपात अलि बढी हुने देखिन्छ।

पर्वतको बाजुङ गाउँमा काट्न तयार धानबाली र गराहरू
बाजुङ, पर्वत: गराभरि पाकेर काट्न तयार धान। तस्बिर: Discover Parbat

पर्वतका किसानका लागि व्यावहारिक सुझाव

  • उठाउन सकिने जति मात्र काट्नुहोस्: मंगलबार वा बुधबार बिहानसम्म झारेर भित्र्याउन नसकिने गरी धेरै खेत एकैपटक नकाट्नुहोस्। जनशक्ति कम भए छिमेकीसँग पर्म मिलाएर काम छिटो सक्न सकिन्छ।
  • काटेको धान खेतमै नछाड्नुहोस्: लामो समय भिजेको धान टुसाउने, कालो हुने र दाना बिग्रने जोखिम हुन्छ।
  • झार्न नभ्याए राम्रोसँग छोप्नुहोस्: सुकेको धानको कुन्यू पानी नजम्ने अग्लो ठाउँमा लगाउनुहोस् र माथिबाट प्लास्टिक वा त्रिपालले राम्रोसँग बाँधेर छोप्नुहोस्।
  • राम्ररी सुकाएर मात्र भकारीमा राख्नुहोस्: ओसिलो धान बोरा वा भकारीमा राखे ढुसी लाग्ने र गन्हाउने हुन्छ।
  • परालको पनि ख्याल गर्नुहोस्: पराल वस्तुभाउको जाडोयामको आहारा हो। सकेसम्म सुकाएर ओभानो ठाउँमा राख्नुहोस् वा राम्रोसँग छोप्नुहोस्।
  • अन्य पाकेका बाली पनि यही हिसाबले: कोदो, भटमास लगायत पाकेका अन्य बाली पनि मंगलबारभित्र भित्र्याउन सकिने भए मात्र काट्नुहोस्।
  • नपाकेको धान हतारमा नकाट्नुहोस्: अझै राम्ररी नपाकेको धान वर्षाको डरले काट्नुभन्दा वर्षा सकिएपछि काट्नु राम्रो हुन्छ।
  • पानीको निकास मिलाउनुहोस्: खेत, कुलो र घरआँगनको पानी निकास पहिल्यै सफा गर्नुहोस्।
  • पहिरोबाट सावधान रहनुहोस्: धेरै दिन पानी परेपछि भिरालो जमिन, कच्ची बाटो र खोलानालाको छेउमा पहिरो र बाढीको जोखिम बढ्छ।

पूर्वानुमान किन बदलिन सक्छ?

न्यूनचापीय प्रणाली अझै विकसित हुँदैछ। यो कति शक्तिशाली बन्छ, कुन ठाउँबाट जमिनमा प्रवेश गर्छ र त्यसपछि कतातिर लाग्छ भन्ने कुरा आगामी केही दिनको वायुमण्डलीय अवस्थाले निर्धारण गर्नेछ। त्यसैले वर्षा सुरु हुने समय र मात्रामा केही फेरबदल हुन सक्छ।

दुई दिनअघि नै हामीले कात्तिक १० गतेअघि नै पाकेको धान र अन्य बाली भित्र्याउन सुझाव दिएका थियौँ। आजको अवस्थाले पनि सोही दिशा देखाएको छ। मौसम प्रणालीको अवस्था परिवर्तन हुन सक्ने भएकाले पछिल्लो मौसम अपडेटमा पनि ध्यान दिनुहोला। समयमै सावधानी अपनाऔँ र सम्भावित क्षतिबाट जोगिऔँ।

बारम्बार सोधिने प्रश्न

वर्षा कहिलेदेखि सुरु हुन्छ?

मंगलबार (कात्तिक १०) सम्म मौसम घमाइलो रहने देखिन्छ। कात्तिक ११ गते बुधबारदेखि १५ गतेसम्म देशभर वर्षा हुने देखिएको छ।

अहिले धान काट्ने कि नकाट्ने?

मंगलबार वा बुधबार बिहानसम्म झारेर, सुकाएर भित्र्याउन सकिने जति मात्र काट्नुहोस्। त्यति समयमा उठाउन नसकिने भए वर्षा सकिएपछि मात्र काट्नु उपयुक्त हुन्छ।

लगातार पाँच दिन पानी पर्छ?

लगातार पानी परिरहने भन्ने होइन। बीचबीचमा वर्षा रोकिए पनि आकाश पूर्ण रूपमा खुल्न नपाउने र पटकपटक पानी पर्ने सम्भावना छ। केही स्थानमा असिना पनि पर्न सक्छ।

चक्रवात अर्नब बन्यो भने पर्वतमा के फरक पर्छ?

प्रणाली चक्रवातमा परिणत भएमा वर्षाको तीव्रता अलि बढी हुनेछ। यो आन्ध्र प्रदेशतर्फ गए नेपालमा प्रभाव मध्यम र ओडिशा वा त्योभन्दा उत्तरतर्फ लागे प्रभाव बढी हुने देखिन्छ। अन्तिम मार्ग अझै निश्चित छैन।

यो सूचना कात्तिक ७ गते शनिबार बिहान ७ बजेको भू-उपग्रह तस्बिर र मौसम मोडेलको अवस्थामा आधारित छ। सबैलाई कोजाग्रत पूर्णिमाको शुभकामना। जय होस्।